श्री अरविन्दको शिक्षा

युट्युबमा हेर्नुहोस् (YouTube): https://youtu.be/cXtCazKPMT0

श्री अरविन्दको शिक्षाको आरम्भ भारतका प्राचीन ऋषिहरूको उपदेशमै आधारित छ, कि विश्व-प्रकृतिका सम्पूर्ण प्रतीतिहरूको अन्तर्गत एक अस्तित्व र चैतन्यको परम-वास्तविकता विद्यमान छ, समस्त वस्तुहरूमा व्याप्त केवल एक मात्र र सनातन आत्मा। तर चेतनाको अवरोध, मन–जीवन–शरीरमा फैलिएको अज्ञानता र विभ्रमका कारण, यो एकत्व बाह्य रूपमा खण्ड–खण्ड झैँ प्रतीत हुन्छ। एक विशिष्ट मनोवैज्ञानिक अनुशासनद्वारा यो विभाजित चेतनाको आवरण हटाउन सकिन्छ र हामी सबैको अन्तरात्मा भित्र तथा सर्वत्र विद्यमान वास्तविक आत्मा, अर्थात् दिव्यताको साक्षात्कार गर्न सकिन्छ।

श्री अरविन्दको शिक्षा अनुसार यो एकमेव अस्तित्व र चेतना यहाँ पदार्थभित्र अन्तर्निहित रूपमा अवस्थित छ। विकासक्रम नै त्यसले आफूलाई मुक्त गर्ने प्रक्रिया हो। जुनवस्था अचेतन जस्तो देखिन्छ, त्यसैमा चेतनाको पहिलो उदय हुन्छ, र एकपटक चेतना प्रकट भएपछि ऊ स्वयमेव निरन्तर उच्चतिर अवतरण गर्न, फैलिन र क्रमशः अधिकाधिक पूर्णता तर्फ विकसित हुन प्रेरित हुन्छ। चेतनाको यस मुक्तिको पहिलो सोपान जीवन हो; दोस्रो सोपान मन हो। तर विकास मनको स्तरसम्म मात्र अन्त्य हुँदैन, यो अझ महान्, आध्यात्मिक र अतिमानसिक चेतनामा रूपान्तरित हुने प्रतीक्षामा हुन्छ। त्यसकारण विकासको अर्को चरण सचेत अस्तित्वमा अतिमानस र आत्माको प्रभुत्व स्थापित गर्ने दिशामा जानैपर्छ किनकि त्यही अवस्थामा मात्र पदार्थभित्र अवस्थित गुह्य दिव्यता पूर्ण रूपमा मुक्त हुन सक्छ, र जीवनलाई वास्तविक पूर्णताको अभिव्यक्ति सम्भव हुन्छ।

पछिल्ला विकासक्रमहरू—वनस्पति र जनावरमा प्रकृतिद्वारा स्वतः सञ्चालित थिए; तिनीहरूमा सचेत इच्छाशक्ति थिएन। तर मनुष्यमा विकासको यात्रा एउटा सचेतन संकल्प, जागरूक प्रयत्न र अन्तर्यात्राद्वारा मात्र सम्भव हुन्छ। तथापि, मानसिक इच्छाशक्ति मात्र पर्याप्त हुँदैन, किनकि मनको एक सीमा हुन्छ, एक निश्चित बिन्दुपछि मन भ्रमित र असहाय हुन्छ। त्यसैले चेतनामा रूपान्तर आवश्यक हुन्छ, एक यस्तो मोड, जसद्वारा मन उच्च तत्वको प्रकाशमा रूपान्तरित हुन सकोस्। प्राचीन मनोवैज्ञानिक अनुशासन र योग-साधनाले यो रूपान्तरण सम्भव बनाउँछ। पहिलेका मार्गहरू आत्मालाई संसारबाट अलग गरी उच्च आध्यात्मिक स्थितिमा विलीन गराउने प्रयासमा केन्द्रित थिए। श्री अरविन्दका अनुसार उच्चतर तत्वको अवतरण सम्भव छ र यो एक यस्तो अवतरण हो जसले आत्मालाई केवल सान्सारिकताबाट मुक्त गर्ने मात्र होइन, बरु संसारमै मुक्त गर्छ; जसले मनको अज्ञानता वा यसको अत्यन्त सीमित ज्ञानलाई अतिमानसिक सत्य–चेतनाले प्रतिस्थापन गर्छ, जुन अन्तरात्माको पर्याप्त साधन बन्न सक्षम हुन्छ; र जसले मानव प्राणीलाई आफूलाई सक्रिय रूपमा पनि र अन्तर्मुख रूपमा पनि चिन्ने सम्भावना प्रदान गर्छ तथा विद्यमान पशुस्तरमै रहेको आफ्नो मानव अवस्थाबाट आरोहण गर्दै अधिक दिव्य जातितर्फ विकास हुन सम्भव बनाउँछ। योगको मनोवैज्ञानिक अनुशासन सम्पूर्ण अस्तित्वलाई रूपान्तरणका लागि खोल्ने द्वार हो; त्यसले अन्तर्निहित अतिमानसिक चेतनालाई अवतरण गरी सक्रिय बनाउने क्षमता दिन्छ।

यस्तो रूपान्तरण तत्काल, चमत्कारित मार्गद्वारा वा छोटो प्रयासले सम्पन्न हुँदैन। अतिमानसिक शक्तिको अवतरण अघि साधक अनेक चरणहरू पार गर्न बाध्य हुन्छ। मानिस प्रायः सतही मन, जीवन र शरीरको तहमै बाँधिएको हुन्छ। तर ऊभित्र एउटा आन्तरिक सत्ता हुन्छ, बाह्य व्यक्तित्वभन्दा अगणित गुणा व्यापक, उज्ज्वल र सम्भावनायुक्त। अहिले मानिसले त्यसबाट सीमित प्रेरणा मात्र ग्रहण गर्छ; यही आन्तरिक सत्ता नै उसलाई निरन्तर सौन्दर्य, समरसता, शक्ति र ज्ञानको खोजतर्फ अग्रसर गराइरहन्छ। यी सबैको कारण योगको प्रथम सोपान हो आन्तरिक अस्तित्वको द्वार खोल्नु र त्यसको प्रकाशबाट बाह्य जीवनलाई नियन्त्रित गर्नु। यसरी साधक आफ्नो वास्तविक आत्मासँग साक्षात्कार गर्छ जो मानसिक, प्राणिक र भौतिक तत्वहरूको मिश्रण होइन, तर तिनको पृष्ठभूमिमा अवस्थित परम-सत्यको अंश हो, दिव्य अग्निबाट उद्गत चिङ्गारी हो। साधकले अन्तःकरणमा निवास गर्न सिक्नु पर्दछ, र त्यही प्रेरणाबाट बाह्य स्वभावलाई शुद्धीकरण र सत्यतर्फ उन्मुख गराउनु पर्दछ। त्यसपछि एक उच्च तत्वप्रति अभिमुखीकरण र त्यसको अवतरण सुरु हुन्छ। तर पनि पूर्ण अतिमानसप्र-काश तुरुन्तै प्रत्यक्ष हुँदैन, किनभने सामान्य मानव-चेतना र अतिमानसिक सत्य-चेतनाबीच अनेक मध्यवर्ती चेतना-तहहरू छन्, जसको शक्ति क्रमशः मन, जीवन र शरीरमा अवतरित गरिनुपर्छ। त्यसपछि मात्र सत्य-चेतनाको पूर्ण कार्यक्षमता मानवस्वभावमा प्रस्फुटित हुन्छ। यो आत्म-शिक्षा र साधना दीर्घकालीन र कठिन यात्रा हो; तर यसका न्यूनतम उपलब्धिहरू पनि अत्यन्त कल्याणकारी हुन्छन्, किनकि तिनले अन्तिम मुक्ति र पूर्णताको मार्गलाई अधिक सम्भव बनाउँछन्।

प्राचीन साधना-पद्धतिका धेरै अङ्गहरू यहाँ पनि अनिवार्य छन्, मनलाई विस्तृतता र अनन्तताको अनुभूतिका लागि खुला बनाउनु, बाह्य चेतनाको उपरान्त अन्तर्यात्रा सम्भव गराउनु, इच्छा र आसक्तिमा विजय प्राप्त गर्नु। बाह्य वस्तुको त्याग आवश्यक नहुन पनि सक्छ, तर इच्छाको त्याग अवश्य आवश्यक हुन्छ। शरीर, यसको आवश्यकताहरू, प्रवृत्तिहरू र लोभ-वासना सबैमा संयम र नियन्त्रण अनिवार्य छ। प्राचीन प्रणालीहरूको एक समन्वय यहाँ विद्यमान छ: वास्तविकता र प्रतीति बीच मनको विवेकद्वारा प्राप्त ज्ञानमार्ग; हृदयको भक्ति, प्रेम र समर्पणको मार्ग; र कार्यमार्ग, जसले इच्छालाई स्वार्थका प्रेरणाबाट हटाई सत्यतर्फ र अहंभन्दा महान् वास्तविकताको सेवातर्फ मोड्छ। सम्पूर्ण अस्तित्वलाई प्रशिक्षित गरिनुपर्छ, ताकि त्यो महत्तर प्रकाश र शक्ति स्वभावमा अवतरण हुँदा उसको ग्रहणशीलता जागृत भई रूपान्तर सम्भव होस्।

यस साधनामा गुरुको प्रेरणा, र विशेषतः कठिन चरणहरूमा उहाँको नियन्त्रण तथा जीवित उपस्थिति अनिवार्य हुन्छ। अन्यथा, मार्गमा धेरै ठोकर, त्रुटी र भ्रम उत्पन्न भई, साधनाको सफलताका सबै सम्भावनाहरू नै अवरुद्ध हुन सक्छन्।  गुरु त्यो महान् व्यक्तित्व हो जो उच्च चेतनाको शिखरसम्म आरोहण गरिसकेको हुन्छ, र प्रायः त्यस चेतनाको प्रतिनिधि वा अवतारका रूपमा मानिन्छ। उहाँ केवल शिक्षाद्वारा होइन, आफ्नो प्रभाव, तेजोमय उदाहरण र अनुभूतिको प्रसारणद्वारा साधकलाई सहारा र मार्गदर्शन प्रदान गर्नुहुन्छ। यो श्री अरविन्दको शिक्षा र साधनाको प्रक्रिया हो। श्री अरविन्दको शिक्षाको उद्धेश्य कुनै धर्म विशेष विकास गर्नु, पुराना धर्म समेट्नु वा नयाँ धर्मको स्थापना गर्नु होइन। किनकि ती सबै तत्वहरूले वास्तविक उद्धेश्य  आन्तरिक आत्मविकास बाट विचलित गराउन सक्छन्। उहाँको योगको एकमात्र लक्ष्य हो: प्रत्येक साधकले समयक्रमअनुसार सर्वत्र विद्यमान एकै आत्माको अनुभूति गर्ने क्षमता विकास गर्नु, र मानसिक चेतनाभन्दा उच्च आध्यात्मिक तथा अतिमानसिक चेतनाको उदयद्वारा मानवस्वभावलाई रूपान्तरित गरी दिव्यता प्रदान गर्नु।

श्री अरविन्द

एक शिष्यलाई लेखेको पत्र, फेब्रुअरी १९३४

सन्दर्भ : CWSA, खण्ड ३६, पृष्ठ ५४७–५५०

अनुवाद : वसन्त, श्री अरविन्द आश्रम

युट्युबमा हेर्नुहोस् (YouTube): https://youtu.be/cXtCazKPMT0